अर्थतन्त्रलाई पुनर्जीवन दिने बाटो

eco

-डा. मुकुन्द बाँस्तोला

कोरोनाले अर्थतन्त्रका मुख्य दुई पक्ष माग र श्रमबजारको आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्छ । साथै, पूर्ण रोजगारी र कुनै पनि लक्ष्य प्राप्तिमा व्यवसाय गर्नबाट वञ्चित गर्ने खालका प्रभावहरू पार्छ । विशेषगरी, यस संकटले धेरै परिवारलाई गरीबीमा धकेल्दै छ, धनी र गरीबबीचको असमानतालाई झनै बढाउँदै छ ।

यस संकटबाट उत्पन्न हुने आर्थिक र सामाजिक परिणामहरूको सामना गर्न उचित नीति आवश्यक पर्छ । स्वास्थ्यक्षेत्रलाई बलियो बनाउन तत्काल प्रोत्साहनका प्याकेजहरू ल्याउनु जरुरी छ । विशेष गरी लघु र साना उद्योग तथा श्रमिकका लागि आय सुनिश्चित गर्न आर्थिक राहतको प्रबन्ध मिलाउनु जरुरी छ ।

क्षेत्रगत भिन्नताहरूलाई सावधानीपूर्वक विश्लेषण गरी त्यसमा उचित हुने नीति कार्यान्वयनमा जोड दिनु आवश्यक देखिन्छ । वस्तु तथा सेवाको खपत र लगानी थप संकुचित  हुन नदिनका साथै सबै क्षेत्रका कामदार र उद्यमका लागि विशेष प्याकेजको व्यवस्था मिलाउन अति नै आवश्यक छ । अर्थतन्त्रलाई चलायमान बनाइराख्न रोजगारी र सामाजिक सुरक्षा प्रोत्साहित गर्ने खालका प्याकेजहरू आउनु नितान्त आवश्यक छ ।

महामारीको अन्त्यपछि गतिविधि सामान्य बन्दै गयो भने माग नियन्त्रित रोजगार रणनीति आवश्यक हुनेछ । यस रणनीतिले व्यापारिक वातावरणको बहाली, उत्पादकत्वमा सुधार, अर्थ व्यवस्थाको विविधीकरण र संरचनात्मक परिवर्तनका लागि प्रोत्साहन ल्याउनेछ ।

यस महामारीबाट माग, उत्पादन र रोजगारीमा ह्रास आउँछ । तसर्थ उपभोक्ता र व्यापारीको आत्मविश्वास बढाउन आर्थिक प्रोत्साहन र ठोस कार्ययोजना आवश्यक छ । पूर्वाधारमा आधारित विशेष प्याकेजमार्फत निर्माण क्षेत्रमा सरकारहरूले निर्णायक भूमिका खेल्न सक्छन् ।

सबै देश वर्तमानमा आइपरेको चुनौतीको सामना गर्न समान रूपले तयार छैनन् । केही मुलुक बन्दाबन्दी र खस्किँदो विश्वव्यापी मागको असरबाट बढी पीडित छन्, विकासोन्मुख अर्थतन्त्रहरूले राजस्व र बढ्दो खर्चका कारण वित्तीय घाटा बेहोर्नुपर्ने संकेत देखिएको छ । यसले उच्च लागत र मुद्रा अवमूल्यन हुन सक्छ र ऋण स्थिरतालाई कमजोर बनाउँदै लैजाने देखिन्छ । यस्ता देशले आप्mनो अर्थव्यवस्था जोगाउन श्रमको माग बढाउने तथा रोजगारी र आम्दानी वृद्धि गर्नेगरी कार्यस्थलमा कामदारको सुरक्षा उपाय अवलम्बन गर्नेजस्ता कार्य गर्नुपर्छ ।

वित्तीय र मौद्रिक नीतिहरूको समसामयिक र समन्वित कार्यान्वयनले अर्थतन्त्रलाई बचाउन सक्छ । रोजगार र आय गुमाउनबाट रोक्न सक्छ र कम्पनीहरूलाई विनाश हुनबाट जोगाउन सक्छ । अर्थतन्त्रको दिगो पुनरुत्थानलाई सजिलो बनाउँछ । सहयोगी मौद्रिक नीतिले सरकारी अर्थव्यवस्थाको समर्थनमा वित्तीय नीतिहरू समायोजन गर्न सक्षम बनाउँछ । महामारीबाट उत्पन्न आर्थिक मन्दीको तत्काल नकारात्मक प्रभाव रोक्नका लागि ठूलो संख्यामा सरकारी रकम उद्यम, मजदूर परिवार र अति न्यून आय भएका भएकालाई सहजताका साथ उपलब्ध गराइनुपर्छ ।

विकासोन्मुख देशहरूमा सार्वजनिक रोजगार कार्यक्रमहरूमा गरिने लगानी प्रभावकारी हुन्छ । यसबाट ठूलो संख्यामा बेरोजगार र अनौपचारिक कामदारलाई संकटबाट  उद्धार गर्दै काम र आय प्रदान गर्न सक्छ, जसले गर्दा उनीहरूलाई आर्थिक रूपमा सबल रहन सक्षम बनाउँछ । सार्वजनिक रोजगार कार्यक्रमले वातावरणीय पुनःस्थापना र सामुदायिक पूर्वाधारलाई सम्बोधन गर्न सक्छ ।

अहिले विभिन्न देशले विनियोजन गरेका प्याकेजहरूको पहिलो तरंगमात्र पर्याप्त छैन । ती देशलाई मध्यम अवधिको पुनप्र्राप्तितर्फ लैजान समष्टिगत आर्थिक नीति आवश्यक देखिन्छ । स्वास्थ्यमा आपत्कालीन चरणहरू सकिएपछि त्यसमा सरकारको हस्तक्षेप आवश्यक हुनेछ । यस संकटबाट वस्तुको मूल्य, पूँजी प्रवाह, व्यापार, आपूर्ति शृंखलामा परेको असरलाई सुधार गर्न धेरै देशलाई गाह्रो पर्नेछ । तसर्थ, अन्तरराष्ट्रिय वित्तीय सहायता, समन्वित वित्तीय र मौद्रिक नीतिहरू विश्वव्यापी सुधारका लागि एकदमै आवश्यक हुनेछ । यसले कमजोर र बलियो अर्थतन्त्रहरूलाई फाइदा पुर्‍याउनेछ । विश्वका मुलुकहरूले विशेष गरी लघु, मध्यम र ठूलो आकारको उद्यमका लागि सहयोग जारी राख्नु अति नै आवश्यक छ । श्रमबजारमा हस्तक्षेप गरी मानिसलाई काममा फिर्ता ल्याउन र सामाजिक संरक्षणका उपायहरूलाई निरन्तरता दिन पनि जरुरी छ । उदाहरणका लागि उच्च आय आर्जन गर्नेहरूका लागि कर कटौती, पहिलोपटकको घर किन्दा थप कर विस्तार र कर्पोरेट करका केही प्रावधान परिवर्तन गर्न सकिन्छ ।

अल्पकालीन क्षेत्रगत नीतिले संकटमा परेका क्षेत्रहरूमा लगानीका लागि तत्काल वित्तीय सहयोग समावेश गर्छ । आर्थिक राहत, बेलआउट्स, ब्रिजिङ हब वा अनुदानको रूपमा सहयोग गर्न सकिन्छ । सरकारले खर्चको परवाह नगरी थप स्वास्थ्य र आपत्कालीन सेवाहरूका लागि पाइला चाल्नुपर्छ । स्वास्थ्य र सामाजिक हेरचाहकर्मीहरूको रोजगारीको सुरक्षा, आत्मबल वृद्धि र आयमा सुधार गर्न स्वास्थ्य तथा सामाजिक सेवाक्षेत्रमा लगानी आवश्यक छ ।

स्वास्थ्यप्रणालीलाई सुदृढ पार्न अतिरिक्त वित्तीय स्रोत आवश्यक पर्छ । सेवा वितरणको प्रभाव अधिकतम बनाउन कानूनी र वित्तीय फ्रेमवर्क बनाउन आवश्यक छ । वैश्विक समन्वयबाट सीमित क्षमताका स्वास्थ्य प्रणाली भएका देशहरूलाई मानवीय सहायता, चिकित्सा स्रोत र आपत्कालीन वित्तिय सहायता उपलब्ध गराउन सकिन्छ । यसबाहेक, सार्वजनिक आपत्कालीन सेवाहरू, पूर्वाधार, शिक्षा र सामाजिक सेवा कायम राख्न पनि सहयोग लिन सकिन्छ ।

चयन गरिएका क्षेत्रहरूलाई सहयोग प्रदान गर्न अनिवार्य छ । प्राथमिक र मध्यम सहयोगबाट विश्वव्यापी आपूर्ति शृंखलामार्फत उत्पादनको वातावरण सुरक्षित बनाउनुपर्छ ।

धेरै उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रहरूमा सामाजिक सुरक्षा खर्च,  यातायात, ऊर्जा, सञ्चार, पानीजस्ता महत्त्वपूर्ण सार्वजनिक सेवालाई जोगाउन र सरकारी खर्च स्वास्थ्य क्षेत्रतर्फ सार्ने तारतम्य मिलाउन आवश्यक छ । क्षेत्रगत हस्तक्षेप र सक्रिय श्रमबजार नीतिका लागि कोष पनि उपलब्ध गराउनुपर्छ । त्यस्तो नीतिले श्रमिकको रोजगारी सहज बनाउने वातावरण सुनिश्चित गर्न सक्छ । यस्तो नीति काम खोज्नेमा सहयोग तथा कामदार र रोजगारदातालाई मध्यस्थता गर्न सहयोग पुर्‍याउन पनि प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech