प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समिती तथा युकेका अध्यक्ष भक्त गुरुङको सारगर्भित मन्तब्य

ONUF-UK main logo


सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा आयोजीत नेपाली नयाॅ वर्ष २०७८ को शुभकामना सन्देश कार्यक्रममा अध्यक्षको तर्फबाट प्रस्तुत मन्तव्य:

सम्माननीय प्रधानमन्त्रीज्यू, नेकपा (एमाले) बिदेश बिभाग प्रमुख डा राजन भट्टराई ज्यू, बिदेशस्थित कुटनीतिक नियोगका महामहिम राजदूतज्यूहरु, नियोग परिवारका सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद, राष्ट्रिय परिषद र मातहतका सम्पूर्ण एनआरएनका नेतागणहरु, प्रवासी नेपाली एकता मञ्चका सम्पूर्ण साथीहरु, प्रवासी नेपाली संघसंस्थाका लव्धप्रतिष्ठित व्यक्तित्व ज्यूहरु, पत्रकार साथीहरु, प्रवास तथा स्वदेशका विभिन्न स्थानहरुबाट जोडिनुभएका सम्पूर्ण आमाबुबा दाज्युभाई दिदीबहिनीहरु ।

गत अंग्रेजी नयाँवर्ष २०२१ जनवरी १ मा प्रमज्यूसंग यसरी नै शुभकामना आदानप्रदान गर्ने अवसर पाएदेखि अहिले दोश्रोपटक हामी नेपाली डायस्पोरा परिवारलाई प्रमज्यूसंग शुभकामना आदानप्रदान गर्ने अवसर जुटेको छ । यो अवसरको लागि सम्माननीय प्रमज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछौं । नेपाली नयाँ वर्ष २०७८ साल बैशाख १ गतेको पावन अवसरमा सम्माननीय प्रमज्यूलाई र मातृदेशमा रहनुभएका समस्त परिवारजनहरुलाई हामी प्रवासी नेपालीहरुको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

प्रवासको नेतृत्व गर्ने जिम्मेवारी प्रवासले नै लिने भन्ने सहि र बैज्ञानिक शिद्धान्तलाई स्थापित गरी प्रवास कमिटीको अध्यक्ष, सचिव सहित प्रवास कमिटी बनाउने अधिकार प्रवासलाई नै प्रदान गर्नुभएकोमा पार्टी अध्यक्ष कमरेडप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

 

PM 5

सम्माननीय प्रमज्यू, हामी कोभीड–१९ को महामारीलाई भोग्दै, झेल्दै, छल्दै र लड्दै आज यहाँ उपस्थित भएकाछौं । आज हामी समस्त प्रवासी नेपाली परिवार यहाँ उपस्थित छौं । नेपाली कुटनीतिक नियोग परिवार, एनआरएन परिवार, प्रवासी नेपाली एकता मञ्च परिवार, अन्य सम्पूर्ण नेपाली डायस्पोराका लब्धप्रतिष्ठित व्यक्तित्वहरु हामी यहाँ भेला भएका छौ । हामीले प्रमज्यूको नेतृत्वमा नेपालको उन्नती प्रगतीलाई नजिकबाट नियालीरहेका छौं । कोभिड–१९ महामारीको बावजूद नेपालको विकास निर्माण र समृद्धीको दिशाले लिएको प्रगतिलाई हामीले सकारात्मक दृष्टिबाट हेरिरहेका छौं । आज नेपाल राष्ट्रको समग्र राज्य संयन्त्रमा आत्मविश्वास जागृत भएको देखेकाछौ, मुलुकभरी सडक, हवाई, रेल, सुरुङ, विद्युतिय र इन्टरनेटको कनेक्टिभीटी उच्च रफ्तारमा बढेको देखेका छौ । गोर्खा–भुकम्प २०१५ ले ढालेका राष्ट्रका धरोहरहरुको पुनर्निाण अन्तिम चरणमा पुगेको छ, मेलाम्चीको पानी काठमाडौंवासीको घरघरमा खस्दा गृहिणीहरु खुसिले गदगद भएकाछन्, उत्तर–दक्षिणका नाकाहरु खुल्ला भएकाछन्, नाकाबन्दीका ढोकाहरु सदाका लागि बन्द गरिएकाछन्, हाम्रा बैदेशिक व्यापारको शीरको ग्राफ ठाडो भएको छ, विश्वको उच्च सिखर सगरमाथा आफ्नै हातले नापिन पाउँदा गर्भले ठिंग उभिएको छ, सदियौदेखि हडपमा परेका कालापानी, लिपुलेक र लिपियाधुरा चुच्चे नक्शाको अंगालोभित्र बेरिंन पाउँदा गर्भले पुलकित भएको छ । यी सबै कुराले के प्रवास के स्वदेश सबै ठाउँका नेपालीहरु, के बृद्धबृद्धा, के युवा बयष्क सबैजना “वी लभ यु डियर प्राईममिनिष्टर, वि लभ यू केपी बा” भनिरहेका छन् ।

विविध जातजाती, भाषा, धर्म र संस्कृतीले सिंगारिएको रंगीन फुलवारी नेपाल आज आफ्नै मौलिक गौतम बुद्ध, रामसिता, महर्षि जनक, सिता, भृकुटीजस्ता तपस्वी युगद्रष्टा महर्षिहरुको तपोभुमीको आफ्नै “ब्राण्ड” बनाउने “नेपाली ब्राण्ड मेकिङ रिभोलुसन” मा प्रमज्यू हुनुहुन्छ । यसमा हामी प्रवासीहरु पनि प्रमज्यूको काँधमाकाँध मिलाउने अवसरलाई कुरिरहेका छौ । हामीहरु विदेशमा रहेपनि आफ्नै मातृभुमिको संझनामा अल्झेकाछौं । सपना त्यहिको देख्छौं । हामीहरु पहिलो पुस्ताका नेपाली डायस्पोरा, आफै तंग्रीदै पनि छौं, हामीले अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी नेतृ निक्की हेल्ली, बेलायतका चान्सलर रिषि सुनाक, बेलायतका गृहमन्त्री प्रिति पटेल, अन्तर्राष्ट्रिय विकास मन्त्री आलोक शर्मा, क्यानडाका नेता जगमित सिंह आदिलाई हेरिरहेका छौं । हाम्रा दोश्रो पुस्ताले अवश्य पनि ती स्थानहरु चुम्ने नै छन् । हामी पनि आफुलाई समाल्दै सफलताको बाटोतर्फ लाग्दैछौं, आफैलाई सशक्तिकरण र सवलिकरण गर्दैछौं, र समय बचाएर, आर्जीत ज्ञान, सीप र धन मातृभुमीमै डोर्याउन लागेकाछौं । हामी प्रमज्यूको “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय अभियानमा जोडिन चाहन्छौ । प्रमजीको यस अभियान र हामी प्रवासी नेपालीहरुबीच उभिएका एअरपोर्टमा भिषा, नेपाली नागरिकता, करप्रणालीजस्ता पर्खालहरुलाई भत्काईदिन अनुरोध गर्दछौ । एअरपोर्टमा प्रवासी नेपालीहरुलाई फ्रि भिसाको व्यवस्था गर्न पाए उनिहरु आफ्नो मातृदेशप्रति नतमस्तक बन्थे प्रमज्यू, जसरी अन्य देशहरुले त्यही गरिरहेकाछन् । उनिहरुले सिकेका ज्ञान, सीप र आर्जेका धनलाई स्वदेशमा हस्तान्तरण गर्न नागरिकता विधेयकमा आएको पर्खाल भत्काउनैपर्छ प्रमज्यू, हाम्रा प्रवासी डाक्टर, इन्जिनियर, म्यानेजर आदीलाई स्वदेशको सेवा गर्न पाउने अवसरबाट बन्चित गरिनुहुँदैन प्रमज्यू ।

प्रमज्यू, प्रवासमा हामीहरु कहिलेकाहिँ दिनभरिको कामको थकानले बेडमा पल्टी श्रीमतीको गलामा राम्रो पोते हाल्ने, घरको चुहिएको छानो फेर्ने, आफ्ना भुण्टाभुण्टीहरुलाई राम्रो स्कुल सार्ने जस्ता सपना बुन्दाबुन्दै सदाका लागि निदाईदोरहेछ प्रमज्यू, आज त सेफ्टीलाई राम्ररी ख्याल गरेकै छु भनी ४० तलामाथी ४० डिग्रीको टन्टलापूर घाममा पेन्टिङ गर्दागर्दै खसेर मृत्युवरण गरिदोरहेछ प्रमज्यू, तर मृत्युपछिको हाम्रा शव अलपत्र पर्यो । त्यसलाई परिवारसम्म पुर्याउन पनि गाह्रो भईरहेको छ, हाम्रो अभिभावक भनेको सरकार हो, सरकारले यसलाई जिम्मा लिईदिनुपर्छ प्रमज्यू । प्रवासका सबै देशहरुमा हाम्रा कन्सुलर सेवाहरु राम्ररी चल्नुपर्दछ ताकी प्रमज्यूको समृद्धीको अभियानमा प्रवासी नेपालीहरु सजिलै जोडिन सकुन् ।

अब म धेरै कुराहरु नराखी कार्यक्रमलाई अघि बढाउन हाम्रो संगठन, प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेज्यूलाई अनुरोध गर्छु र कार्यक्रमको अध्यक्षता गर्दछु । धन्यवाद ।

भक्त गुरुङ
अध्यक्ष
नेकपा (एमाले), प्रवास कमिटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech