प्रेस विज्ञप्ति

onf-1-001-small
प्रिय साथीहरु,
हाम्रो प्यारो संगठन प्रवासी नेपाली एकता मञ्च–युकेको “नेपाली नागरिकता निरन्तरता सम्बन्धी विभाग” ले यसै ११ अप्रिल २०२१ मा “गैरआवासीय नेपाली नागरिकता विधेयक” सम्बन्धी विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम अत्यन्त भव्य रुपमा सम्पन्न भयो ।
आफ्नो व्यस्तताका वाबजूद हाम्रो कार्यक्रमलाई समुदघाटन गरी आफ्नो सारगर्भित मन्तव्यहरु राखिदिनुहुने नेपालका राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं । प्रवासी नेपालीहरुको चासोको विषयहरुमा नजिकबाट सहयोग गरी आउनुभएका नेपाल सरकारका पुर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा प्रतिनिधिसभाका सदस्य माननीय श्री शेरबहादुर तामाङ र प्रतिनिधिसभाका कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति माननीय सदस्य श्री कृष्णभक्त पोख्रेलज्यूले आफ्नो गरिमामय उपस्थिती सहित अमुल्य समय दिएर गैरआवासीय नेपालीहरुको नागरिकताको विषयमा उठेका जिज्ञासाहरुमा प्रष्ट पारी आगामी दिनहरुमा उक्त नागरिकता यथासमयमा उपलब्ध गराउने गरी कानुन बनाउने प्रक्रियामा सहयोग गर्ने बाचासहितको सारगर्भित मन्तव्य दिनुभएकोमा धेरै आभारसहित धन्यवाद दिन चाहन्छौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव डा हेमराज शर्माज्यूलाई आफ्नो महत्वपूर्ण कार्यपत्रसहितको विचारहरु प्रस्तुत गरिदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौ ।
प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव कमरेड रमेश पाण्डेज्यू, एनआरएनका अन्तर्राष्ट्रिय, महादेशीय क्षेत्रीय र एनसिसिका नेतागणहरु, प्रवासी नेपाली एकता मञ्चका विभिन्न देशहरुका अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, एनआरएन युकेका अध्यक्ष श्रीमती पुनम गुरुङज्यू लगायत युकेका विभिन्न संघसंस्थाहरुबाट प्रतिनिधित्व गरी कार्यक्रममा उपस्थित हुनुभएका सामाजीक व्यक्तित्वगणहरु, विभिन्न मिडियाका प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका मिडियाकर्मी महानुभावहरु र कार्यक्रममा उपस्थित हुनुभएका नेपाली डायसफोराका सम्पूर्ण लब्धप्रतिष्ठित गण्यमान्यगणहरु, सबैलाई कार्यक्रममा सक्रिय सहभागीताको लागि आयोजकको तर्फबाट हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौं । कार्यक्रमको मध्यान्तरतिर कार्यक्रममा नै उपस्थित भएका एक असामाजीक तत्वले जूम प्रबिधिले उपलब्ध गराएको स्लाईड सेयरिङको एनोटेसन फिचरको दुरुपयोग गरी अत्यन्त घृणित, असभ्य र फोहोरी शव्दहरु लेख्ने दुष्प्रयास गरी घृणित पशुवत व्यवहार देखाउने काम गर्यो। उनको यस कायर व्यवहारको हामी घोर निन्दा र भ्रत्र्सना गर्दछौं ।
नेपाल सरकारले प्रस्तुत गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकमा गैरआवासीय नेपालीहरुले नेपालमा सम्पत्ति प्राप्त गर्ने, आर्जन, भोग वा धारण गर्ने, बेचबिखन गर्ने, सम्पत्तिबाट व्यावसायिक लाभ प्राप्त गर्ने वा अन्य कुनै किसिमबाट व्यवस्थापन गर्न सक्ने गरी आर्थीक, सामाजीक, साँस्कृतिक, निशुल्क अध्यागमन हकअधिकार सहितको अत्यन्त सह्रानीय व्यवस्था गरेको छ । तथापी, उक्त विधेयकमा संवैधानिक परिषद वा न्याय परिषदको सिफारिसमा नियुक्त हुने कुनै पनि पद, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको निजामती सेवा वा अन्य सरकारी सेवाको पद, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल विशेष सेवा वा त्यस्तो सेवाको पद, कुटनैतिक सेवा वा त्यस्तो सेवाको कुनै पद जस्ता सरकारसंग जोडिएका कुनै पनि सरकारी रोजगारी लिन नपाईनुका साथै बृद्धभत्ता, एकलमहिला भत्ता, अपाङ्गताभत्ता जस्ता सामाजीक सुरक्षा भत्ताहरु लिनबाट गैरआवासीय नेपाली नागरिकहरुलाई बन्चित गरिएको कुराहरुप्रति हाम्रो असहमती रहेको छ र यसलाई सच्याउन सरकारको ध्यान आकार्षण गराउछौं ।
यसखालका प्रावधानहरुलाई यथाशिघ्र सच्याईनुपर्दछ भन्ने यस अन्तरक्रियाको निष्कर्ष पनि छ । आगामी दिनहरुमा यसै निष्कर्षलाई अगाडी बढाई सबै प्रवासी नेपालीहरुलाई अधिकार सम्पन्न बनाउने र “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षलाई पूरा गर्ने दिशामा यस संगठन अघि बढ्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत सबैको जानकारीको लागि अनुरोध गर्दछौं । कार्यक्रमको सफलताको लागि अहोरात्र खटिनुहुने “नेपाली नागरिकता निरन्तरता विभाग” का सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ । हार्दिक अभिवादन सहित । भक्त गुरुङ अध्यक्ष सुरेशजंग शाही महासचिव प्रवासी नेपाली एकता मञ्च–युके

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित लेख

© 2021 Diaspora – Overseas Nepali Forum - International Committee | All Right Reserved 

Managed by Overseas Nepali Unity Forum – UK (ONUF-UK )

Website Developed by  Himal Tech